ओलीको पक्षमा मानव सागर,देश चुनावतर्फ अब गयो गयो, चुनावले फैसला गर्छ प्रधानमन्त्री ओली

काठमाडौं, माघ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतामा लग्ने कि स्थायित्व तर्फ लग्ने त्यसको फैसला गर्न नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनुभएको छ । जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको उहाँले चर्चा गर्नुभयो ।

नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । “आमसभाको उपस्थितिले मूल पार्टी यही हो भन्ने प्रमाणित भएको छ, अब पनि कसैलाई भ्रममा छ भने कठै बरा मात्र भन्न सकिन्छ” उहाँले भन्नुभयो, “यो पार्टी सार्वभौमसत्ताको रक्षा, स्वाधिनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी हो ।”

“हामी कसैलाई धम्की दिंदैनौं, आग्रह गर्छौ, अनुरोध गर्छौ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई उहाँहरुले धम्की दिनुभयो, यी संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चुनावतर्फ अब गयो गयो भन्दै उहाँले अव सबैचिज चुनावले फैसला गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

आमसभा विथोल्न बन्द
“आमसभा विथोल्न हिजो तथाकथित नेपाल बन्द गरियो, श्रमजीविको काम गर्छु भन्नेहरुबाट बाटाभरी बुढीआमाका तरकारी सडकमा फ्याँकियो, गरिब ट्याक्सीवालालाई झुक्याएर आगो लगाउने काम भयो” उहाँले प्रश्न गर्नुभयो, “गरिब ट्याक्सीवालालाई गाडिभित्रै जलाउन खोज्ने पार्टी कसरी गरिबमुखी पार्टी हुन्छ ?” अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उहाँले देश अव अशान्तिको भूमरीमा जान नसक्ने बताउनुभयो । यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुन्छ उहाँले भन्नुभयो ।

बन्दको बहानामा गरिएको गरिबको नोक्सान सरकारले क्षतिपूर्ति दिन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “क्षति तपाईहरुले गर्नुहुन्छ, क्षतिपूर्ति सरकारले दिन्छ, गरिबलाई हेर्ने यो देशमा सरकार छ ।” शान्तिका लागि लड्ने सरकार छ, जनता ढुक्क हुनुहोस् आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल बन्द गरेर जनतालाई तर्साउन खोजियो, बाटामा खाल्डा खन्ने काम भयो, बाटामा बम राखेर विप्लव लेख्ने काम पनि भयो ।”
आफूले गरेको कामको जिम्मेवारी लिन नसक्ने अनि क्रान्तिकारीको ठूलो नारा लगाउने ? जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जब जनताको सागर उर्लिन्छ, तब त्यस भेललाई कसैले कुनै शक्तिले छेक्न सक्दैन ।” आज इतिहासमै कहिल्यै नभएको जनसभा आज काठमाडौंमा भइरहेको उहाँले दावी गर्नुभयो । देश र जनताको पक्षमा सरकारले निरन्तर काम गरिरहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

मुलुकको कुनै पनि नागरिक बेसहारा नहुने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “नेपालमा कोही बेसहारा हुँदैन, कोही भोकै मर्नु पर्दैन ।” सरकार नै नागरिकको अभिभावक भएकाले सबै नागरिकको सुरक्षाको प्रबन्ध मिलाएको उहाँले चर्चा गर्नुभयो । कोही कोही फोटो खिच्न र नाटक गर्न गरिबलाई सहयोग गरेकोजस्तो गरेपनि वास्तविक सहयोग सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुल लक्ष्यसाथ सरकारले काम गरिरहेकाले केही तत्वहरु त्यही हुन नदिन विभिन्न बहानामा अवरोधको प्रयास गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “पूर्व–पश्चिम रेलको बाटो शुरुभएको छ, चाँडै नेपालको पूर्व–पश्चिम रेल सञ्चालन हुँदैछ ।” भारत र चीनतर्फ बाट नेपालमा रेल गुडाउने सहमति भएको उहाँले बताउनुभयो । काठमाडौंदेखि केरुङ पुग्न एक घण्टामा पुग्ने राम्रो बाटो बनाउँदै छौं, नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं उहाँले भन्नुभयो ।

अब नेपाली युवालाई स्वदेशमै रोजगारको कार्यक्रम बनाएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमै उद्योग, कलकारखाना सञ्चालन गरेर युवालाई विदेश जान नदिने वातावरण निर्माण भइरहेको छ ।” बढ्दै गएको कोभिड १९ पनि नियन्त्रणमा आइसकेकाले केही समयपछि मुलुकबाटै कोभिड १९ समाप्त हुने बताउनुभयो । जनताको जीवन रक्षाको काममा सरकारले प्राथमिकता दिएको उहाँले चर्चा गर्नुभयो ।

सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “जनवाद ल्याउने सुन्दर सपना देखाएर युवालाई लडाइयो, तिनीहरु आज पीडित छन्, सबैको हेरचाह गर्न सरकारले समिति बनाएर काम गरिरहेको छ ।” घाइते सबैको उपचारको प्रबन्ध, अनाथ बालबालिकाको शिक्षा र लालनपालन सरकारले गर्ने व्यवस्था मिलाएको उहाँले प्रष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...