पोखरा, माघ २७ गते । पोखरामा आजदेखि टाइगर कप आमन्त्रित राष्टिय क्लब च्याम्पियनसिप महिला÷ पुरुष भलिबल प्रतियोगिता सुरु हुदैछ । माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले उद्घाटन गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिता हेर्न दर्शकका लागि फलामका प्याराफिट निर्माण गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि छुटटै प्याराफिटको व्यवस्था गरिएको छ उहाँले भन्नुभयो, सबै तयारी पुरा भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने छ भने महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ ।प्रतियोगिताका विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन ।कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने ग्रुपका सचिव प्रकाश बरालले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।