पोखरा, माघ २७ गते ।नेपाल खानेपानी संस्थान सञ्चालक समितिका पूर्व अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरा खानेपानी आयोजना निर्माणमा चासो देखाएका छन् । पोखरा १५ कोलपाटनमा निर्माणाधिन पोखरा खानेपानी शुद्धीकरण आयोजनाको ओभरहेड पानी ट्यांकी अवलोकन गर्दै पानीको अभाव हुन नदिन संस्थानलाई आग्रह गरे ।
अवलोकनमा स्थानीय समाजसेवीसहित पुगेका डा. पोखरेलले पोखरेली नागरिकलाई शुद्ध पिउने पानी वितरण खानेपानी संस्थानबाटै सम्भव हुने बताए । उनले आफ्नो ४ वर्षे कार्यकालमा भएको नतिजाले भविष्यसम्म प्रभाव परिरहने उल्लेख गर्दै थप योजना ल्याउन आफू क्रियाशील भईरहने बताए । कोलपाटन हुँदै भोटे चौतारो, छिनेडाँडा लगातय क्षेत्रमा पुग्ने ४ इन्चिको पाइप विस्तार हुँदा आफूलाई खुसी लागेको पूर्व अध्यक्ष पोखरेलले बताए ।
ई.डा. पोखरेलले स्थानीयलाई पानी वितरण योजना अगावै स्थानीय क्षेत्रमा हुनुपर्ने साना योजना कार्यालयलाई बुझाउन आग्रहसमेत गरे । अवलोकनमा पुगेका नेपाली कांग्रेस पोखरा १४ का सभापति बोधराज कार्कीले संस्थानसँग सम्झौता गर्न आफूहरु तयार रहेको भन्दै उपभोक्तालाई सहज खानेपानीको व्यवस्थापनमा योजना ल्याउन खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख कार्कीसँग आग्रह गरे ।
संस्थान पोखरा शाखाका प्रमुख र्इं. आशिष कार्कीले संस्थानले उपभोक्ताको हितमा नयाँ नयाँ योजना ल्याइरहेको बताए । उनले शुद्धीकरण आयोजना सम्पन्न भएसँगै ओभरहेड ट्यांकीबाट वितरण हुने पानीले पोखरा १४ र १५ मा सुधार हुने बताए । प्रमुख कार्कीले महानगरसँगको सम्झौता अनुरुप संस्थानको कार्यक्षेत्रलाई फराकिलो बनाउँदै लगिने अनुगमनका क्रममा बताएका थिए ।
जापानिज सरकार जाइकाको करिव ५ अर्ब रुपैयाँको सहयोगमा निर्माण भइरहेको शुद्धीकरण आयोजना अन्तर्गत ३ वटा ओभरहेड पानी ट्यांकी निर्माण अन्तिम चरणमा गइसकेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिएका थिए । पोखरेलको नेतृत्वमा स्थानीय चिरञ्जिवी बराल, मोतिबहादुर वानिया, तिलक लम्साल, तोप थापा, मिनबहादुर जिसी, राम्जी जिसी लगायतको टोली अवलोकनमा पुगेको थियो ।