नेपाल नं. १ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१।१६, १३।२१, १२।२१ ले पराजित भएका हुन् ।
पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको रत्नले बताए । पुरुष एकलमा जोड दिंदा अझ बढि चोट ब्यहोर्नु पर्ने भएकाले पुरुष युगलका लागि आफुलाई सुरक्षित राखेको हो तामाङ्गले बताए ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नंम्बर एक खेलाडी बिकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।यु १७ ब्वाईज तर्फ सेनाका भोज बहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलबस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कंचनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम ८ मा स्थान बनाए ।
राष्ट्रिय बरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाईनल प्रवेश गरेका छन् ।क्वाटरफाईनलको खेल आजै हुने र सेमिफाईनल तथा फाईनल खेल भोलि शनिबार फागुन १ गते हुने छ ।