काठमाडौं, फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा गएर निर्वाचन गर्नु ‘प्रतिगमन’ नभएको बताउनुहुँदै निर्वाचन भएर छाड्ने प्रष्ट पार्नुभएको छ ।नेकपा लुम्बिनी प्रदेशद्वारा विहिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभयो । देश हैन, आफूलाई बनाउन हिड्ने केही नेताहरु आज सडकमा पुगेको उहाँले बताउनुभयो । “देश बनाउने उद्देश्य नबोकेका तत्वहरु अहिले पार्टी छाडेर बाहिरिएका छन्” उहाँले थप्नुभयो, “चुनाव हुने भनेको कसरी प्रतिगमन ? ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? तपाईहरुले कस्तो व्यवस्था खोज्नुभयो ? ”
“नेपाली भूभाग समेटेर नयाँ नक्सा छाप्ने वित्तिकै पार्टी भित्रका केही नेता विरोध गरे, पदबाट हट्न भने, उधारो होइन नगदानगद चाहियो भन्नुभयो” अध्यक्ष ओलीले थप्नुभयो, “केही व्यक्ति पार्टीबाट चोइटिएर गएपछि पार्टी गतिशील बनेको छ, एकताबद्ध भएको छ ।” पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि शुद्धीकरण भएको उहाँले तर्क गर्नुभयो ।
“निराश हुनुपर्ने कुनै कारण छैन, केही व्यक्ति बाहिर गएका हुन्” अध्यक्ष ओलीले पार्टी पङ्तिलाई आश्वास्त पार्नुहुँदै थप्नुभयो, “सरकारले गरेको राम्रो कामको कहिल्यै प्रसंशा भएन, उहाँहरुले कुनै विकासको काम देख्नु भएन ।” सरकारले तीन वर्षको कामको समीक्षा गर्ने तयारी गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आउने शनिबार सञ्चारमाध्यम मार्फत प्रत्यक्ष जनतामाझ आउने जानकारी दिनुभयो ।
प्रतिनिधिसभा संविधानसम्मत ढङ्गले विघटन गरेको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश अस्थिरतातर्फ जाने देखिएपछि, काम गर्न नदिएपछि बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको हुँ ।” संविधान धारा ७६ ९७०, धारा ८५ अनुसार प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी विघटन गरिएको उहाँले बताउनुभयो । देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो ।