पोखरा, फागुन १५ गते ।फागुन १५ पोखरेलीका लागि कालो दिन हो । दुई वर्ष अगाडी आजकै दिन पोखरेलीले आफनो प्रिय नेता गुमाएका थिए । दुई वर्ष अगाडी फागुन १५ गते विहानैदेखि आकाशमा कालोबादल मडारिएको थियो । पानी परिरहेको थियो । मध्यान्ह १२ बजे पोखरेलीका प्रिय नेता रविन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परे । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको थियो । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कास्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो ।
दुर्घटना र उनको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कास्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो । आज दुई वर्ष वितेको छ । नेपाली राजनीतिमा रवीन्द्र अधिकारीको अभाव खड्किएको छ । अझ पोखरेलीका लागि केन्द्रीय राजनीतिमा पहुँचका हिसावले उनी अब्बल र सम्भावना बोकेका ब्यक्ति थिए । उनको समृद्धि आकाक्षा र नेपाली राजनीतिमा गरेको योगदानको कदर गदै रवीन्द्र अधिकारी प्रतिष्ठान समेत गठन गरिएको छ ।
उहाँकै धर्मपत्नी विद्या भटराई अधिकारीको अध्यक्षतामा प्रतिष्ठान बनाइको छ । आज प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी नेता अधिकारीको स्मरण गर्ने छ ।उहाँले सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १८ स्थित जामुनबोटमा निर्माण गरिएको सहिद तथा विभुती पार्कमा रहेको उहाँको पूर्णकदको शालिकमा दीप प्रज्वलन सहित कार्यक्रम आयोजना गरिने स्मृति प्रतिष्ठानले जनाएको छ ।
युवा पुस्तामा अति नै लोकप्रिय पर्यटन मन्त्री रबिन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो ।कास्की–३ बाट प्रत्यक्ष निर्वाचित सांसद अधिकारी संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्थ्यो । उहाँको अभाव कास्कीले झेलिरहेको छ ।
बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि।सं २०२६ साल बैशाख २२ गते आइतबार कास्की जि?लाको भरतपोखरी गाबिस वडा नंं ९ जामुनाबोटमा उहाँको जन्म भएको थियो । रविन्द्र अधिकारीले बिध्या भट्टराईसँग बैबाहिक सम्बन्ध गास्नु भएको थियो । बिद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थी कालकै प्रेम सम्बन्ध बिवाहमा बदलिएको थियो । उहाँहरुका दुई छोराहरु छन।