काठमाडौं। कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।
प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
“सरकारले घरघरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ”, प्रवक्ता कुँवरले भन्नुभयो । यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँदै ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिसकेको छ । काठमाडाँै प्रशासनले पनि सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घरभित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ ।