रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

बागलुङ, फागुन २१ गते । रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको थियो ।सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायी बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष याम बहादुर कार्कीले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारीको सफलताका लागि शेयर सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो । सदस्यहरु नै सहकारीका मालिक भएकाले उनीहरुलाई बढी भन्दा बढी सहकारीसंग सम्बन्धित बनाउने, उनीहरुलाई संस्थाले सञ्चालन गरेका सबै कार्यक्रममा सहभागी बनाउने योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा काठेखोला वडा नं. ७ का वडा सदस्य मुक्तिराज थापा, वडा सचिव रिता जिसी कुँवरले सहकारीलाई प्रभावकारी बनाउनका लागि सहकारी शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सदस्यहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको थियो । तालिमका सहभागी भीम कुमारी जिसीले सदस्यहरुलाई सक्रिय रुपमा संस्थामा कारोबार गर्न तथा सस्थाका कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि तालिम सहयोगी भएको बताउनुभयो ।

तालिम कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष उजेली शर्माको स्वागत र प्रवन्धक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थामा हाल १ सय २० समुह, ८ सय जना शेयर सदस्य, ३५ लाख शेयर रकम, १ करोड ७७ लाख वचत, २ करोड १ लाख रुपैया कर्जा लगानी रहेको प्रवन्धक उषा थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...