पोखरा, फागुन २४ गते ।पोखरा महानगरपालिकाले“लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भुमिका” शीर्षकमा बक्तृत्वकता प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको सन्र्दभमा आज फागुन २४ गते प्रतियोगता आयोजना गर्न लागेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा अवसर प्राप्त नगरेका गृहणी महिलाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महानगरले जनाएको छ । सहभागी हुनका लागि महानगर सामाजिक विकास महाशाखाले सहभागी छनौट गर्ने आधार र मापदण्ड तयार गरेको छ ।४० वर्ष माथिको महिला हुनुपर्ने, विशुद्ध रुपमा गृहणीको रुपमा रहेको हुनुपर्ने र समुह, समिति, संघसस्थाहरुमा प्रमुख भुमिकामा रहेको महिलालाई छनौट गर्न नमिल्ने उल्लेख गरिएको छ । प्रतियोगिता एकजनालाई प्रतिस्पर्धीको लागि सात मिनेटको समय प्रदान गरिने मापदण्डमा उल्लेख गरिएको छ । बक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरका ३३ वडाबाट दुई जनाका दरले सहभागी हुन पाउने सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताउनुभयो ।
प्रतियोगितामा प्रथमले १५ हजार, द्धितियले १० हजार, तृतिय ८ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । बुधबार सम्म प्रतियोगितामा सहभागी हुन २५ जनाले नाम दर्ता गरेको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत विष्णु माया पौडेलले जानकारी दिनुभयो । यसैवीच कार्यक्रममा सहभागी हुने आमा समुहहरु मध्यबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने छ ।