पोखरा, फागुन २५ गते । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारका बीच समन्वय आवश्यक रहेको बताउनु भएको हो ।
राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो–‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’
मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भएकाले सहकारीमा रहेको श्रम, शक्ति र पूँजिलाई आर्थिक विकासमा जोड्नका लागि ध्यान दिनु पर्ने र त्यसका लागि कानुन वाधक भएका समयानुकुल परिमार्जन गर्न सकिने मन्त्री तुम्बाहाम्फेले बताउनुभयो ।
भूमि हिन तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि स्थानीय तहले ध्यान दिनु पर्नेमा जोड दिदै उहाँले भूमि सम्बन्धी समस्या समाधानमा सहकारीको भूमिकालाई पनि बढाउन सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा संघीय सभाका सदस्यहरु मन कुमारी केसी जिसी र विद्या भट्टराईले सहकारी क्षेत्रको प्रवद्र्धन गरी उद्यमशिलताको विकास मार्फत महिला र युवाहरुलाई समाज रुपान्तरणमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले समाजमा विद्यमान बहुआयामिक गरिवी न्यूनिकरणमा सहकारी र स्थानीय तहबीचको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमार्फत स्थानीय स्रोत साधनको परिचालनका लागि स्थानीय तहको भूमिका र सहकारीको सहयोगका लागि समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रम राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) को स्वागत र डिजिएम बाबुल खनालको सञ्चालनमा सम्पन्न भएको थियो । गोष्ठीमा गण्डकी प्रदेशका प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।