पोखरा, चतै १ गते । सरकारी तथा गैरसरकारी डेरी उद्योगहरूले चार महिनादेखि दूध किसानको बक्यौता रकम दिएका छैनन् । औपचारिक तथा अनौपचारिक क्षेत्रको उद्योगीहरूबाट किसानले पाउन पर्ने करिब एक अर्ब रुपियाँ बक्यौता रहेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जानकारी दिनुभयो ।दूध उत्पादनको क्षेत्रमा करिब पाँच लाख किसान आबद्ध छन् । उनीहरूले दैनिक सात लाख लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । ती सबै दूध डेरी उद्योगीहरूले सहकारीमार्फत वा सीधै किसानबाट खरिद गर्छन् । विगत चार महिना किसानले भुक्तानी पाउन नपाएको गुनासो गरेका छन् ।
अध्यक्ष देवकोटाले भन्नुभयो ‘दूध बेचेर नै गुजारा गर्ने किसानले महिनौसम्म भुक्तानी नपाउँदा निकै समस्या छन् । बैङ्कको ऋण तिर्न र गाई गोरुका लागि दाना खरिद गर्न सकिरहेका छैनन् ।गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सबनव सिवाकोटीले पनि डेरी उद्योगीले किसानलाई भुक्तानी नदिएकाले गुनासो बढेको बताउनुभयो ।अधिकांश ठाउँका किसानले गण्डकी प्रदेश सरकारसमक्ष दूध बिक्रीबापतको भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । उहाँले भन्नुभयो, दूध किसानले पनि उखु किसानको जस्तो नियमित भोग्न नपारोस् ।
डेरी उद्योगीहरू किसानबाट आफूहरूले दूध खरिद गरे पनि कोरोनाका कारण त्यो बिक्री नभएका कारण समस्या उत्पन्न भएको बताउँछन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कोरोनाको महामारीमा पनि आफूहरूले किसानको दूध खरिद गरेको तर त्यो बिक्री नहुँदा धुलो र बटर बनाएर भण्डार गरेको बताउनुभयो ।भण्डार गरिएको धुलो दूध र नौनी बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, अलिअलि त हामीले दिइरहेका छौँ तर हाम्रै पुँजी फसेका कारणले भुक्तानी दिनमा समस्या भइरहेको छ । भण्डारन भएका दुग्धजन्य पदार्थ बिक्री गर्न पाएमा किसानको सबै रकम भुक्तानी गर्न सकिने उहाँको भनाइ छ ।
डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले करिब १० अर्ब रुपियाँभन्दा बढीको दुग्धजन्य पदार्थ डम्प भएर बसेका कारण समयामा भुक्तानी गर्न नसकिएको बताउनुभयो ।
उहाँले कोरोना महामारीको बन्दाबन्दीमा किसानबाट करिब एक अर्ब बराबरको एक करोड २० लाख लिटरभन्दा बढी दूध सङ्कलन गरी नौ सय मेट्रिक टन धुलो दूध र छ सय मेट्रिक टन नौनी उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान दिएको दाबी गर्नुभयो ।सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि करिब तीन महिनादेखि किसानको भुक्तानी दिएको छैन । दूधको ३० प्रतिशत क्षेत्र ओगटेको डीडीसीले पनि आफ्नो दुग्धजन्य पदार्थ बिक्री नभएका कारण किसानको भुक्तानीमा समस्या भएको जनाएको छ । डीडीसीका बजार प्रमुख सञ्जीव झाका अनुसार किसानलाई करिब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ भने एक अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ भण्डारमा डम्प भएको छ ।
कोरोनापछि बजार क्रमिक रूपमा सुधार हुँदै गइरहेको र सोही अनुपातमा भुक्तानी हुन थालेको बताउनुहुन्छ ।किसानको बक्यौता रकम भुक्तानी दिन भनि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग रकम पनि माग गरेको छ । अहिलेसम्म मन्त्रालयले त्यसमा कुनै प्रतिक्रिया पठाएको छैन ।दूध उत्पादन गर्दै आउनुभएका चितवनका किसान भगीरथ तिमिल्सिनाका अनुसार कोरोनाको महामारीको बेला पनि किसान अहिलेको जस्तो समस्या भोग्नुपरेको थिएन । दूधको भुक्तानी नपाउँदा कतिपय किसान गाईभैँसी बेच्न बाध्य भएको उहाँको भनाइ छ ।