काठमाडौँ, चैत ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्य आवश्यक भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रपतिले भन्नुभयो, ‘‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । दलका नेतृत्वले सधैँं उच्च राजनीतिक संस्कार कायम गर्दै आउनुभएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।’’
राष्ट्रपति भण्डारीको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँगको मङ्गलबार भएको सर्वदलीय बैठकमा उहाँले यस्तो विचार राख्नुभएको हो । बैठकमा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदान–प्रदान भएको हो ।बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतोसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
शीर्ष नेताहरूलाई कार्यक्रममा स्वागत गर्दै राष्ट्रपति भण्डारीले हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको चर्चा गर्नुभयो । नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका लागि सबै दलका नेताप्रति राष्ट्रपतिले धन्यवाद प्रकट गर्नुभयो ।
राष्ट्रपतिले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका बारेमा चर्चा गर्नुभयो । उहाँले यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।