नेपाल कम्युनिष्ट पार्टी- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू केपी शर्मा ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको बताएका छन्।
शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले केपी ओलीसँग छुट्टिने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।
आफूहरूको ४८-४९ वर्षको माया पिरती एक रातमै नसकिने उनले बताए।
‘हामी सँगै जाने पक्षमा छौं। केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं। त्यत्रो लामो समयको माया पिरती कहाँ एक रातमा सकिन्छ। केपी ओलीसँगको मेरो माया पिरती ४८-४९ वर्षको भइसक्यो थाहा छ ? तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला,’ उनले भने।
त्यस्तै उनले केपी ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको बताए।
‘गोर्खा भर्ती खोल्दाखेरी के हुन्छ ? बाटाबाटामा मान्छे खोज्छन्। त्यस्तै यहाँ टिकट लिइकन केन्द्रीय सदस्य बन्न आओ भनेर डमरू बजाएर खोजिराख्या छन्। त्यो केन्द्रीय कमिटी हो? त्यो पार्टी हो? हाम्रो लडाइँ के हो भन्दा पार्टीलाई पार्टीको रूपमा अघि बढौं। विधानको आधारमा अघि बढौं,’उनले भने,’ विधानले के भन्छ भने प्रत्येक व्यक्ति पार्टीको कमिटीको मातहतमा हुन्छ। अध्यक्ष होस् वा कुनै पनि पदाधिकारी होस्। ऊ कमिटीको मातहतमा हुन्छ संगठनको मातहतमा हुन्छ। पहिलो सिद्धान्त। केपी कमरेडले त्यो सिद्धान्त मान्नुहुन्छ कि मान्नु हुन्न। प्रश्न त्यो हो।’