काठमाडौं , चैत ८ गते ।पोखरा अन्तराष्टिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । विमानस्थलको ७२ प्रतिशत काम सम्पन्न भएको छ ।अबको ६ महिनाभित्र निर्माणको काम सम्पन्न हुने आयोजनाले जनाएको छ । विमानस्थलमा जहाज अवतरणका लागि रिठ्ठेपानी डाँडा असुरक्षित बनेको छ । लामो समयदेखि डाँडा कटानको काम रोक्किएको थियो ।
पोखरा विमानस्थलमा अवतरण गर्ने जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाको कटान गर्नुपर्ने अवस्था थियो । यसका लागि सो डाँडामा रहेका रुख कटानको आदेश नआउँदा काम रोकिएको थियो । मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेकोछ ।
सरकारको प्रवक्ता पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउनु भएको हो । सरकारको निर्णयसगै डाँडा कटानको काम अगाडी बढने छ । सरकारको २० फागुनको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो डाँडामा १ सयदेखि डेढ सय रुख काट्नु पर्ने रहेको छ । पोखरा विमानस्थल आयोजनाले विभागीयमन्त्रीहरु पोखरा आउदाँ डाँडा कटानको अप्ठ्यारो फुकाइदिन आग्रह गदै आएका थिए ।