पोखरा, चैत ९ गते । पाँचौ पोखरा स्पोर्टस अवार्डको तयारी तिव्र पारिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २० हुने अवार्डको तयारी तिव्र पारिएको मञ्चले जनाएको छ ।
गत वर्ष कोरोनाका कारण स्थगित अवार्ड यस वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गर्न लागेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । मञ्चले दुवै वर्षलाई आधार मानेर खेलाडीको प्रतिभा प्रदर्शन आधारमा विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने छ ।
खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न मञ्चले अवार्ड कार्यक्रम आयोजना गरेको अध्यक्ष गिरीले बताए ।‘यो कार्यक्रम गण्डकी प्रदेशले गौरव गर्न लायक हो । यसलाई सफल बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरेका छौ ।’
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गर्ने अध्यक्ष गिरीले बताए । अवार्डलाई विभिन्न व्यवसायीक र ब्यत्तिहरुले आर्थिक सहयोग गरेका छन् । पोखराको लेकसाइडमा सञ्चालित माई होटलले नवप्रतिभा खेलाडी पुरस्कार प्रायोजना गरेको छ ।
त्यस्तै अवार्डका लागि राष्ट्रिय खेकलुद परिषद र पोखरा महानगरपालिकाले पोखरा स्पोर्टस अवार्डका लागि आफनो बार्षिक बजेट पुस्तिकामै ३÷३ लाख रुपैयाँ विनियोजन गरेका छन । अवार्डका लागि गण्डकी प्रदेश सरकारले सहयोगका लागि आश्वासन दिएको तर रकम एकिन नभएको समेत मञ्चले जनाएको छ । प्रदेश सरकारले विगतमा राम्रै सहयोग गरेका कारण अहिले पनि हाम्रो अपेक्षा अनुसार नै बजेट उपलब्ध गराउने विश्वास गरेको अध्यक्ष गिरीले बताए ।
अवार्डका लागि विदेश तथा स्वदेशबाट सहयोग आउने क्रम जारी रहेको मञ्चका कोषाध्यक्ष शशि पौडेलले जानकारी दिए । उनका अनुसार कास्कीका चार गाँउपालिका, विभिन्न व्यवसायीक प्रतिष्ठानमा आर्थिक सहयोगका लागि प्रपोजल पु¥याउने काम भएको समेत बताए ।
कार्यक्रम सम्पन्न गर्न मञ्च अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अवार्डलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । जसअनुसार मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरेको छ । सल्लाहकार समितिमा पत्रकार महासंघ गण्डकी प्रदेशका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य रहनु भएको छ ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करण्ादेखि गण्डकी प्रदेशस्तरीय बनाइएको हो । गत वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण गत वर्ष कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।