कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय तहले गरेको काम प्रशंसनीय: प्रधानमन्त्री

काठमाडौँ, चैत १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि जनताका सेवक भएको बताउनुभएको छ । विकास निर्माण, सुशासन, समुन्नत समाज निर्माण र जनताको हक अधिकार स्थापित गर्नका लागि जनताले जनप्रतिनिधिलाई सेवकका रूपमा निर्वाचित गरेर पठाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।


नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि जति उच्च पदमा भयो, त्यति नै बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरोना रोकथाम र नियन्त्रण गर्ने कार्यमा स्थानीय तहले गरेको काम प्रशंसनीय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले स्थानीय तहको भूमिका महìवपूर्ण र असाधारण बन्दै गएको छ ।” स्थानीय तहलाई अधिकार सम्पन्न गर्नका लागि सरकारले कहिल्यै पनि नहिच्किचाएको भन्दै उहाँले कार्य क्षमताका आधारमा स्थानीय तहलाई बजेट उपलब्ध गराउँदै जाने बताउनुभयो ।

नेपालमा सङ्घीय सरकार, सातवटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकार भएको र सबै सरकारको उद्देश्य समुन्नत समाज निर्माण गर्ने भएको भन्दै प्रधानमन्त्री ओली भन्नुभयो, “अब कसैले पनि बेसहारा बन्नु पर्दैन ।” राम्रा कामका लागि प्रतिस्पर्धा गर्न स्थानीय तहलाई निर्देशन गर्दै उहाँले सङ्घीय सरकारले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक साधन स्रोत उपलब्ध गराउने भन्दै नेपालका लागि स्थानीय तह नयाँ अभ्यासमा भएकाले एकैपटक स्थानीय तह सबै दृष्टिकोणले सक्षम नहुने उहाँले स्पष्ट गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...