खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौँ, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताउनुभएको छ । राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।


उहाँले भन्नुभयो, ‘‘खुला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मानिस ?’’हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मानिस के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘म्यान्मारका रोहिङ्ग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुला हो म्यान्मारसँग हो र ? विगतमा भुटानसँग थियो र ? ’’


राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा खतराबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरू नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकिरहनु पर्दैन आफैँ डढेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मतमतान्तर र द्वन्द्व बढ्न सक्छ ।’’


देशमा क्रान्ति र परिवर्तनको नाममा विगतमा उत्पात मच्चाएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपाङ्गता भएका कति विधवा र बेसहारा टुहुरा भए होलान् ?’’ ‘‘मान्छेहरू गाउँमा बस्न नसकेर सहर आए र काठमाडौँ आएपछि पनि लखेट्ने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रा युवाको १५ प्रतिशत देश बाहिर छ’’, उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...