पोखरा, बैशाख ८ गते ।टाईगर ग्रुप अफ पोखरा नेपालले नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले निकालेको नयाँ वर्षको क्यालेण्डर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विमोचन गर्नुभयो । टाईगर गु्रपले प्रकाशन गरेको क्यालेण्डरमा एक वर्षको अवधिमा गरेका गतिविधिसगै पुरानो पोखरा र अहिलेको पोखराको तस्विरहरु समेत राखिएको छ ।पोखरेली कलाकार सुनिल उलकले खिचेका ५० वर्षअघिका पोखरा र अहिलेको पोखराका तस्विरहरु क्यालेण्डरमा समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महागनरका प्रमुख मानबहादुर जिसीले महानगरको नयाँ बन्ने कार्यालयमा संगहालय समेत व्यवस्था गरिने बताउनुभयो । पोखराको ऐतिहासिक विषयमा जानकारी पाउन सक्ने र पोखरेली कलाकारहरुले खिचेका पुराना र वर्तमान तस्विर लगायत पोखराका बारेमा जानकारी प्राप्त हुने विषयहरुलाई महानगरकै संग्रहालयमा राखिने बताउनुभयो ।उहाँले २०७७ साल पीडादायि भएको बताउदै नयाँ वर्ष २०७८ साल सबैका लागि सुखद रहनसकोस भन्ने कामना गर्नुभयो ।
प्राज्ञ प्रजापति पराजुलीले विभिन्न क्षेत्रका ब्यक्तिहरु मिलेर टाईगर ग्रुप स्थापना गदै सामाजिक कार्यमा जुटेको बताउदै अझ धेरै सामाजिक कार्यक्रमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभयो । टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य राकृष्ण ज्ञवाली र सचिव प्रकाश बरालले संस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।