पोखरा, वैशाख १० गते ।नेकपा (एमाले)का नेता खगराज अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जडसूत्रवाद र विसर्जनवादका विरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा नेकपा (एमाले), कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता अधिकारीले जडसूत्रवाद र विसर्जनवाद नेपाली कम्युनिष्ट आन्दोलनमा समस्या बन्दै आएको बताउनुभयो । पूर्व मन्त्री समेत रहनुभएका नेता अधिकारीले माक्र्सवादको सिर्जनात्मक प्रयोगले मात्रै कम्युनिष्ट आन्दोलन बचाउन सकिने तर्क गर्नुभयो ।
विभिन्न उतार चढावका बीचबाट नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको बताउँदै उहाँले नेकपामा आएको पछिल्लो विभाजन कुनै सैद्धान्तिक कारण नभइ व्यक्तिगत स्वार्थमा आधारित भएको टिप्पणी गर्नुभयो । एमाले र माओवादी केन्द्रबीचको एकता सही मनसायले नै भएको जिकिर गर्दै उहाँले पर्याप्त बहसविना एकता गरिएकाले त्यो टिक्न नसकेको बताउनुभयो । रिस, आवेग र उत्तेजनाले कम्युनिष्ट पार्टी बनाउन नसकिने भन्दै नेता अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा (एमाले) नै भएको दाबी समेत गर्नुभयो ।
द्वन्द्वात्मक भौतिकवादको विकल्प आदर्शवाद हुनै नसक्ने भन्दै उहाँले गलत कार्यनीतिले रणनीति सफल हुन नसक्ने बताउनुभयो । जननेता मदन भण्डारीले अघि सारेको विचारले कम्युनिष्ट पार्टीलाई जनतासँग जोड्न सहज भएको भन्दै नेता अधिकारीले नेपालको भूराजनीतिक अवस्थालाई मेल खाने विचार जनताको बहुदलीय जनवाद भएको दाबी पेश गर्नुभयो ।
नेकपा (एमाले), कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर वैरागीले पनि बोल्नुभएको थियो । कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार आयोजित कार्यक्रममा एमालेका जिल्लास्तरका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।