पोखरा, वैशाख १६ गते ।। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् ।शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग गरेका हुन् ।

लाइफ केयर ल्याबको रिपोर्टका आधारमा शाही हाल चरक अस्पतालमा उपचाररत छन् ।नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिचरण आचार्यले विज्ञप्ति जारी गरी पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न माग गरेका हुन् ।
उनीहरुले शाहीको उपचार भइरहेको चरक अस्पतालमा सुरक्षाकर्मी परिचालन गर्नु रहस्यपूर्ण भन्दै त्यहाँको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।त्यस्तै प्रदेशसभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।