दाङ– तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा तीन जना बालक मृत अबस्थामा फेला परेका छन् । भारतीय नं.प्लेट रहेको आरजेओ १ सीसी ०८८५ नम्बरको निशान जीप भित्र शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका –६ बरुवागाँउमा पार्किङ गरि राखिएको उक्त जीपमा सोही ठाउँका ९ वर्षीय सन्देश परियार, ७ वर्षीय सुर्वण परियार र कर्ण परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।
मृतक तीन जनाको शव पोष्टमास्र्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ । लक गरिएको जीपमा शव भेटिएदा घटना शंकास्पद भएको भन्दै प्रहरीले नेपालगन्जबाट तालिम प्राप्त बिशेष कुकुर सहित प्रहरी ल्याएर घटनाको थप अनुसन्धान भइरहकोको प्रहरी प्रमुख चन्दको भनाइ छ ।गत वैशाख १६ गते घरबाट बेपत्ता भएका तीन बालक गएराति कारभित्र मृतअवस्थामा स्थानीयले फेला पारेका थिए ।
उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।