दमौली, वैशाख २० गते । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।
कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरू पमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।
“हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।” उहाँका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन् ।
जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो । नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।
ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ ।