गण्डकीमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु
पोखरा, बैशाख २३ गते। गण्डकी प्रदेशमा बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका तीन र म्याग्दीका एक जना सहित चार संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । पोखराका दुई अस्पतालमा उपचाररत संक्रमित तीन पुरुष र एक महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर ३ का ८७ वर्षीय पुरुष,पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । पोखरा ४ का पुरुषमा बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो भने पोखराकै चरक मेमोेरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
अरु तीन संक्रमितको पोखराको फुबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशमा २० हजार ४६८ कोरोना संक्रमित छन् । तीमध्ये १७ हजार १५९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।