पोखरा, बैशाख २४ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो विवरण अनुसार म्याग्दी, रुपन्देही र दाङका कोरोना संक्रमितको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका २ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो २ः३० मृत्यु भएको हो ।

उनमा बैशाख २० गते कोरोना पुष्टि भएको थियो ।अर्का रुपन्देही जिल्ला बुटबल उपमहानगरपालिकाका ३२ वषीय पुरुषको पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दाङ लमही नगरपालिकाकी ५४ वषीय महिलाको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ । यसअघि आजै गण्डकीमा चार जनाको मृत्यु भएको थियो । स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गदै पोखराको अस्पतालमा उपचाररत ३ जना र पर्वतमा होम आइसोलेसनमा रहेका १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको जनाएको थियो ।

थपोखरा महानगरपालिका–२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उहाँको हिजो निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वषीया संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा हिजो बेलुका निधन भएको हो । उहाँलाई हिजो नै कोरोन संक्रमण पुष्टि भएको थियो ।पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको हिजो दिउसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको थियो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।पर्वतको जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा निधन भएको हो ।