पोखरा, बैशाख २९ गते ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको छ । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले आज नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नव नियुक्त मुख्यमन्त्री गुरुङले आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पौडेलले पद तथा गोपनियताको सपथ गराउनुभयो । सपथ ग्रहण कार्यक्रमा गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शभा, एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिएको हो ।
