पोखरा, जेठ ४ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमलेकै सहयोगमा संसदमा राप्रपाले एक सिट जीतेको बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, गत संसदीय चुनावमा राप्रपाले नेपाली कंग्रेस र नेकपा(एमाले) दुवैसँग चुनावी तालमेल गरेको थियो ।

झापामा राप्रपाको सहयोगबाट एमालेका के पि ओली लगायत धेरैले चुनाव जिते । राप्रपाले पनि एमालेबाट सहयोग पायो र संसदमा एक मात्र भएपनि सांसद निर्वाचित गर्न सफल भयो । उनले लेखेका छन्, सहयोग लिन हुने तर सहयोग दिन नहुने मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।
अध्यक्ष थापाले हालै राप्रपाले आगामी राष्ट्रिय सभाको चुनावमा नेकपा एमालेका उमेदवारलाई सघाउने निर्णय गर्यो । एमालेका तर्फबाट सहयोगका निम्ति लिखितरूपमा अनुरोध आयो भएको र राप्रपाबाट सहयोग गर्ने निर्णय भएको बताएका छन् । अरु उमेदवार व्यक्तिगतरूपमा योग्य नै हुनुहुन्छ । तर, उहाँहरु पनि कम्युनिष्ट पृष्ठभूमी कै हो । उहाँहरुको तर्फबाट कुनै पार्टीले पनि राप्रपासँग स्थागतरूपमा सहयोग मागेन ।
थापाले कतिपयले हिन्दुवादी राप्रपाले धर्मनिरपेक्षता पक्षधर एमालेलाई भोट दिने निर्णय गरेकोमा आश्चर्य प्रकट गरे । त्यो प्रतिक्रिया अस्वभाविक होईन । तर, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति लिएको पार्टीले अन्य दलहरूसँग सहकार्य गर्नु रणनीतिक कदम हो भन्ने बुझ्नु पर्छ भनेका छन् ।
थापाले देश अहिले संकटको चक्रव्युहमा फसेको छ । यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटि र कमजोरीहरू सच्याएर अघि बढ्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा हो ।
उनले आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको आरोप समेत लगाएका छन् ।थापाले अहिले कथित धर्मनिरपेक्षताको आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको समेत दावी गरेका छन् । लोभलालच र प्रलोभनमा पारेर तथा भ्रम सिर्जना गरेर लाखौंको संख्यामा धर्मपरिवर्तन गराईएको छ । धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाती र दलित समुदायका रहेको उल्लेख गरेका छन् ।