हेटौँडा, जेठ ६ गते ।राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा आज ९ बजेदेखि मतदान हुँदैछ । बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन्
नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप-निर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् ।
बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनको एकमात्र मतदात केन्द्र हेटौँडा तोकिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, सुरक्षालगायतका व्यवस्था गरिएको जनाएको छ । कोरोना (कोभिड–१९) सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनमा मतदान स्थल र मतदान केन्द्रमा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मतदान गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा अनिवार्य गर्दै कोभिड–१९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमित प्रदेश सभाका सदस्य एवं नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले मतदान गर्नका लागि छुट्टै मतदान केन्द्र व्यवस्था गरी मतदान केन्द्र (ग) थप गरिएको छ ।
मतदान स्थलमा यसअघि प्रदेश सभा सदस्यका लागि केन्द्र (क) एवं नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र तोकिएको थियो । यसअघि ७२ घण्टा अवधिको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुपर्ने अनिवार्य गरेकोमा छलफलपछि पीसीआर परीक्षण नगराएका मतदातालाई मतदानबाट वञ्चित नगर्ने सहमति बनेको छ ।
उपनिर्वाचनका केही मतदातासमेत कोरोना सङ्क्रमित रहेको पाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हालसम्म १३ जना मतदातामा कोरोना सङ्क्रमण भएको जानकारी आएको बताउँदै त्यो सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्रीसमेत रहनुभएका रामबहादुर थापा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सङ्घीयताविद् देवकोटा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा उम्मेदवारी दिनुभएको हो तर नेकपामा विवाद समाधान गर्ने सहमतिपछि अवस्थामा परिवर्तन भएको दाबीसमेत गरिएको छ ।
बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनको मत गणना र परिणाम घोषणा बिहीबार साँझ नै हुने भएको छ । बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदानको समय रहेको छ । बागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट विजयी बन्नुभएका थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले थापालाई कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो ।
बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता भएको छ ।यसैबीच निर्वाचन आयोगले बिहीबार हुने भनिएको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीतका काम भएको भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मौन अवधिमा प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमले उम्मेदवारको जित हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिको अन्तर्वार्ता लिनेजस्ता गतिविधि गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।