काठमाडौं । पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् ।

तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका महिलाले मात्र एकल महिला भत्ता पाउनेछन् ।
सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ ।