काठमाडौं ।वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेका हुन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।
जसपा नेता केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन् ।जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ ।
पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।