एमाले नेता गोकर्ण विष्ट र योगेश भट्टराईले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए।

उनले दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको बताएका छन्।
महतोले पदभार ग्रहण गर्दा सरकारमा सहभागी हुनुको कारण र पार्टीका एजेन्डा सुनाएका थिए। त्यसक्रममा उनले वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिको सवालहरू अगाडि बढाउने बताउँदै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ भनेका थिए।
‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ विष्टले लेखेका छन्।यस्तै, भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुल राज्यको बहसको संकेत राम्रो नरहेको बताएका छन्। यसले देशलाई फेरि द्वन्द्वतिर फर्काउने भट्टराईले बताएका छन्।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ संविधानको धारा ३ को परिभाषा उल्लेख गर्दै भट्टराईद्ये भनेका छन्, ‘अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’