पोखरा, असार ४ गते ।गण्डकी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने छन् । गत जेठ २९ गते मुख्यमन्त्री भएका पोखरेलले आज विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतपछि मात्रै विनाविभागीय मन्त्रीलाई जिम्मेवारी बाडफाड र मन्त्रीमण्डल विस्तार गर्नेछन् । विश्वासको मत नलिदै मन्त्रीमण्डल विस्तार गर्दा ब्यापक असन्तुष्टि बढने र सरकारले विश्वासको मत प्राप्त नगर्ने डरले मुख्यमन्त्री पोखरेलले गठन भएको एक सातामै विश्वासको मत लिन लागेको बताइएको छ । नेपाली काँग्रेसभित्रै मन्त्रीका आकांक्षीहरु धेरै छन् । विशेष गरी कास्कीका प्रत्यक्ष निवाचित विन्दुकुमार थापाले मन्त्री दावी गरेका छन् । उनीले मुख्यमन्त्रीले सपथ लिएकै बेला मन्त्री बनाउनुपर्ने माग गरेका थिए । त्यस्तै जसपमा समेत दुई जनाले मन्त्री मागेपनि एकजनालाई मात्रै मन्त्री बनाइपछि असन्तुष्टि देखिएको छ । त्यस्तै माओबादी केन्द्रमा पनि मन्त्रीमा विवाद हुनसक्ने देखिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको स्रोतले बताएको छ ।
काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पोखरेल नेतृत्वको सरकारमा काँग्रेसबाट कुमार खड्का, नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ बिना विभागीय मन्त्री छन् ।