पोखरा, असार ११ गते । पोखरा महानगरपालिकाले सडक टिकाउ र बलियो बनाउन नयाँ प्रविधिको प्रयोग गरेको छ । चालु आर्थिक वर्षमा पोखराका मुख्य सडकहरुमा अस्फाल्ट पीच सुरु गरेको छ । महानगरले सडक टिकाउ नभएको भन्दै अमेरिकी प्रविधि भित्राउदै वर्षामा पानी परेपछि खाल्टाखुल्टी पर्ने समस्याको समाधानको खोजी गरेको हो ।
महानगरले सडक अस्फाल्ट पीच गरेका सडक दुई वर्ष खन्न नदिने नीति आगामी आर्थिक वर्षबाट लागु गर्नेभएको छ । आगामी आर्थिक वर्षमा सहरी सडकमा अन्य निकायसँगको समन्वयमा अस्फाल्ट पिच कार्यान्यवन गर्न ७ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले ल्याएको बजेटमा अस्फाल्ट गरिएका सडक कम्तिमा पनि २ वर्ष खन्न स्वीकृति नदिने बताएको छ । पोखरा महानगरपालिकाको गहनाको रुपमा रहेको बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण हुने भएको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको महानगरले जनाएको छ । उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने विश्वास गरेको महानगर उपपमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई पर्यटकीय हबको रुपमा विकाशित हुने विश्वास गरिएको छ । नेपाल सरकारको सर्शत अनुदानबाट संचालन गरिने उक्त सडक आयोजनाको लागि आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
‘विकटलाई निकट’ ल्याउने अठोटका साथ संचालित कनेक्टिङ सडक योजनाहरु आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकतामा परेका छन् । विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिना सडक, बैदाम–पामे–घाँटीछिना सडक, कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक, चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्झ्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक, आदि कनेक्टिङ सडकहरु प्राथमिकतामा छन् ।
यसैगरी काहुँखोला पहिरो पानी सडक, खत्रीपहरो खोलावेशी सडक, जनचेतन चिलाउने खर्क, बास्कोट वडा कार्यालय सडक, वडा कार्यालय २२ देखि भुम्दीहुँदै तारेभीर, राधाकृष्ण मार्गहुँदै तिनकुने सडक प्राथमिकता छन् । उक्त सडकहरुले पोखराको ग्रामीण भूगोललाई सहरको केन्द्र सम्म, यसैगरी कास्कीका अन्य गाउँपालिकाहरु तथा छिमेकी जिल्लाहरुलाई पोखराको मुख्यबजार क्षेत्र सम्म जोड्न रक्त सञ्चारको काम गर्नेछ ।