पोखरा, असार १३ गते । गण्डकी प्रदेश सरकारका चार विनाविभागीय मन्त्रीहरुले आज जिम्मेवारी पाउँएका छन् । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेका थिए ।
जिम्मेवारी बाडफाड अनुसार कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय, माओबादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिइएका मध्य स्वतन्त्र सांसद मनाङेले असहमत रहेको बताइएको छ ।मनाङेले भौतिक पूर्वाधार मन्त्रालय दावी गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्राप्त गरे लगत्तै मधुमाया अधिकारीले मन्त्रालय पुगेर कार्यभार समहालेकी छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले अर्थ र भौतिक तथा पूर्वाधार मन्त्रालयमा दावी गरेपछि जिम्मेवारी बाडफाट हुन सकेको थिएन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले जेठ २९ गते चार जना विना विभागीय मन्त्री सहित सपथ ग्रहण गरेका थिए ।
अर्थमा जसपा, काँग्रेसले दावी गरेका थिए भने भौतिक पूर्वाधारमा माओबादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङले दावी गरेका थिए । मन्त्रायलको संख्यामा विवाद नरहेपनि मन्त्रालयमा विवाद हुदाँ सरकार गठन भएको दुई सातासम्म जिम्मेवारी बाडफाट र मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । अर्थ र भौतिक मुख्यमन्त्री आफैले राखेर अन्य मन्त्रीको जिम्मेवारी बाडफाट भएको छ ।
अधिकारी मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतका कर्मचारीहरुलाई कोभिड(१९) को जटिल परिस्थितिमा उच्च मनोवलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिनु भयो । कार्यक्रममा नव नियुक्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएक थिए ।