आज असार १५ राष्ट्रिय धान दिवस, दहि, चिउरा खाएर मनाइदै

काठमाडौँ, असार १५ गते । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । यसै सन्दर्भमा हामीले नेपालको धानको उत्पादन, माग र आत्मनिर्भरताको स्थितिबारे प्रदेशगत खोज गरेका छौँ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६/७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ ।

नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो । आत्मनिर्भर हुन सक्नुमा मुख्य कारण ऐन कानुन नै रहेको प्रवक्ता घिमिरेले बताउनुभयो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

गण्डकीमा चार लाख मेट्रिक टन आवश्यक
गण्डकी प्रदेशको ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लाको एक लाख २० हजार ५३० हेक्टर जमिनमा धान खेती गरिन्छ । गण्डकी प्रदेशमा चार लाख १० हजार मेट्रिक टन चामल आवश्यक भए पनि तीन लाख ९० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ ।

कृषि विकास निर्देशनालय प्रमुख वासु रेग्मीका अनुसार कास्कीमा २६ हजार ९१, पूर्वी नवलपरासीमा २० हजार ६७० हेक्टर, स्याङ्जामा एक हजार १२०, लमजुङमा १४ हजार २८०, तनहुँमा ११ हजार २६९, गोरखामा ११ हजार छ सय, पर्वतमा आठ हजार ९१०, बागलुङमा पाँच हजार ७५० र म्याग्दीमा तीन हजार ८५०, हेक्टर जमिनमा धान खेती हु्ँदै आएको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै धान खेती हुने कास्कीमा २६ हजार ८१ हेक्टर
क्षेत्रफलमा रोपाइँ हुन्छ ।

मध्य असारसम्म गण्डकी प्रदेशमा १५ प्रतिशत खेतमा मात्र धान रोपिएको छ । कृषि निर्देशनालयका अनुसार हालसम्म तनहुँमा २८, लमजुङमा १०, पर्वतमा ११, म्याग्दीमा ४१, गोरखामा छ, पूर्वी नवलपरासीमा सात, स्याङ्जामा आठ, बागलुङमा १० र कास्कीमा २५ प्रतिशत धान रोपिएको छ । आकाशे पानीको भरमा धान खेती हुने ठाउँका लागि समयमै पानी परेर सहज भए पनि बीउ रोप्नयोग्य भइनसकेकाले ढिलाइ भएको किसानहरू बताउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...