मङ्गलवारबाटै जोन्सन र भेरोसेल खोप लगाइँदै, यी समूहले पाउँछन् लगाउन

काठमाडौँ । सोमबार मात्रै नेपाल आइपुगेको कोरोना भाइरसविरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन भोलि अर्थात् मङ्गलवार देखि लगाउन सुरु भएको छ । यस्तै चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोप पनि मङ्गलवारबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेरोसेल र जोनसन खोप अभियान असार २९ गतेदेखि नै ७७ वटै जिल्लामा सञ्चालन गर्ने बताएको हो ।

कसले लगाउन पाउँछन् भेरोसेल खोप
-५५ वर्ष र सो माथिका उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू
-विश्वविध्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू
-सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू
-नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू
-खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरू

कसले लगाउन पाउँछन् जोन्सन एण्ड जोन्सन खोप
-५० वर्ष देखि ५४ वर्ष उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू
-पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू
-हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू
-स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जना

प्रमाण गर्न के आधार चाहिन्छ
-उमेर समूहको हकमा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात
-सार्वजनिक यातायातका चालक ,सहचालकहरूको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचिको आधारमा,
-अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरूमा संलग्न व्यक्तिहरूको हकमा आधिकारिक परिचय पत्र आधारमा
-विश्वविध्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरूको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा,
-खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूको हकमा पासपोर्ट र भिसाको आधारमा
-पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरूको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...