सुखद अवकाशको पर्खाइमा थिए कास्की रुपा गाउँपालिकाका पाइलट कमल केसी

१ माघ, पोखरा । गत कात्तिकमा ६० वर्ष लागेका कमल केसी नेपाली आकाशमा उडान भर्ने पाइलटमध्ये अनुभवी मानिन्थे ।

अमेरिकाबाट पाइलट पढेर आएका उनले ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।

केसी अनुभवी पाइलटमात्रै थिएनन्, पाइलटका प्रशिक्षक पनि थिए । एक हप्ताअघि मात्रै थाइल्यान्डमा पाइलटहरुलाई प्रशिक्षण दिएर नेपाल फर्किएका थिए । ६५ वर्ष उमेर हद भए पनि उनी अर्को वर्ष अवकाश लिएर परिवारलाई समय दिने योजनामा थिए ।

तर, अब पाइलट केसी न विमान हाँकिरहेका भेटिनेछन्, न परिवारसँग । आइतबार पोखरामा अवतरणकै संघारमा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको विमान पाइलट केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

परिवारको जेठो सदस्य रहेका कमल पाइलट बन्दा माइलो भाइ इन्जिनियर र कान्छो डाक्टर बने । पढाइमा तीक्ष्ण भएकै कारण पाइलट रोजेको हुन सक्ने उनलाई चिन्नेहरु बताउँछन् । तर, अभिभावकको चाहना भने पाइलट बनाउने थिएन ।

‘ऊ आफ्नै इच्छाले हो । हाम्रो इच्छाले त पाइलट नपढोस् भन्ने थियो । मेरो भाइको साला राना परिवारबाट भएर पाइलट थिए, उनैको संगतले पाइलट बन्छु भनेर पढ्यो’, केसीका बुवा वीरेन्द्रबहादुर केसी भन्छन्, ‘आफ्नै बलमा अमेरिका गयो, आफ्नै पैसाले पढ्यो ।’

कमलले उडाएर पोखरा ल्याइरहेको विमान दुर्घटना भएको थाहा पाएपछि बाबु वीरेन्द्र र आमा मीनासहितका परिवारका सदस्य पोखरा विज्ञान प्रतिष्ठान परिसरमा आएका थिए । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव यहीँ ल्याइँदै थियो ।

शोकाकुल परिवेशमा पाइलट केसीकी आमा मीना केसीको आँखाबाट केवल आँसु झरिरहेको, ओंठबाट केवल ‘छोरा… मेरो छोरा… मेरो कमल’ आवाज निस्किरहेको थियो । नजिकै रहेका आफन्त उनलाई सम्झाउन खोज्थे, तर, आफैं भक्कानिन्थे ।
त्यहाँ नरसाएका कुनै आँखा थिएनन्, आँसु नपुछेका कुनै हात थिएनन् ।

आमा नजिकै रहेकी केसीकी बहिनी कल्पना कुँवर भक्कानिइन्, ‘मेरो दाजु, मैले पाइलट नबन्नु भनेकै थिएँ नि, अब मलाई बैनी कसले भन्छ ?’

त्यही बेला केसी परिवारलाई सहानुभूति दिन आइन्, सांसद विद्या भट्टराई ।

भिडबाट सांसद भट्टराईलाई देखाउँदै मलिन आवाज सुनियो, ‘जे नहुनु थियो, भइ त हाल्यो । आफू सम्हालिनुबाहेक अर्को उपाय पनि छैन रहेछ । हेर्नुस् त उहाँमाथि पनि यही घटना भएको होइन ?’

पाइलट कमल केसीका परिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा ।
केसी परिवारलाई सम्हाल्न आएकी विद्याको अनुहार पनि मलिन थियो । तर, यसपटक पनि उनले आफूलाई सम्हालिन् ।

रसाइसकेका आँखालाई केही छड्के पर्दै बायाँ पुछिन् । एकछिन केही बोल्नै सकिनन् । त्यतिबेला पनि अर्धबेहोसीमा रहेकी पाइलट केसीकी आमा छोराको नाम पुकारिरहेकी थिइन् ।

त्यो भिडमा थिएनन्, कमलका बुवा वीरेन्द्र । भिड भन्दा पर टोलाइरहेका थिए उनी । आँखामा आँसु थिएन, मनको अशान्ति प्रष्ट देखिन्थ्यो । ‘बुवा अवस्था यस्तो छ । तपाईंले नै सबैलाई सम्झाउने हो । बरु तपाईं अहिले घर गएर आराम गर्नुस्, हामी यहाँ छौं । केही भयो भने खबर गरिहाल्छौं’, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सम्झाउँदै भने, ‘आमालाई सम्झाउनुस् न !’

तर, वीरेन्द्र आफू घरमा गएर झनै बस्नै नसक्ने जवाफ दिए । ‘ज्वाइँ यो भिड हेरेर केही न केही भए पनि मन सम्हालिएको छ । घर गएर त्यो भित्तो हेरेर झन् काँ बस्न सकिएला र ? होस् म पनि यहीं बस्छु,’ वीरेन्द्रले भने ।

पाइलट कमल केसी कास्कीको रुपा गाउँपालिकाका वासिन्दा हुन् । उनको जन्म २०१९ सालमा रुपाको पोल्याङमा भएको थियो । हाल पोखरा महानगरपालिका–३, तेर्सापट्टिमा उनको घर छ । तर, अधिकांश समय उनी काममै हुने भएकाले परिवारसहित काठमाडौं बस्दै आएका थिए ।

‘हिजो र आज कुरै भएको थिएन, अस्ति कुरा भएको थियो’, बुवा वीरेन्द्रले भने, ‘पोखराको नयाँ एअरपोर्ट खुल्दा पनि सिनियर पाइलट भएको हुनाले डेमो पनि उसैले गरेको हो । पहिले जोमसोम चलाउँदा घर आएर बस्थ्यो, अहिले पोखरा डेली आउँथ्यो । तर, घर आउन भ्याउँदैनथ्यो ।’

बुवा वीरेन्द्र आफूले पनि छोरालाई चाँडै अवकाश लिन सुझाव दिएको बताउँछन् । ‘अब रिटाएयर्ड लाइफ बिता, अब छोड्दे भनेको थिएँ । जे लेख्यो, त्यो हुन्छ । टरेर नटर्ने रहेछ,’ उनले भने ।

बुवा वीरेन्द्रका अनुसार कमलले अमेरिकामा पढाइ पूरा गरेर आएपछि केही समय नेपाल एअरलाइन्सको विमान उडाए । बीचमा एक वर्ष भारतको बेंगलोरमा ‘इन्डियन एअरलाइन्स’ को विमान पनि चलाएका थिए । तर, पछि नेपाल फर्किएर यती एअरलाइन्ससँग जोडिएका थिए ।

आमा मीना छोरा सम्झिँदै भक्कानिइन् :

अस्ति बैंकक कि कहाँ गएर आएँ । केटाहरुलाई सिकाएर आएँ भन्थ्यो । बरु उतै अलि केही दिन बसेर आइदिया भए नि हुन्थ्यो ।

मजस्तो भाग्यमानी कोही छैन भन्थें, अहिले यस्तो भयो । मलाई कमी केही थिएन । मेरा ६ वटा छोराछोरी छन्, तीनजना छोरा, तीनजना छोरी सर्लक्क थिए, नातिनातिना टनाटन छन् । यस्तो राम्रो थियो मलाई, आज के भयो ?

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...