पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताउनुभएको छ । विहिबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै मन्त्री थापाले अबको शैक्षिक स्तर व्यवसायिकमुखी हुनुपर्ने तर्फ जोड गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले कस्तो खालको उत्पादन खोजेको छ, त्यस्तै प्रवृतिको शैक्षिक पद्धती हुन जरुरी छ । बजारको माग अनुसारको शिक्षा दिनुपर्ने आजको आवश्यकता हो । समयसापेक्ष शिक्षा नीतिमा गण्डकी सरकार समेत लागिरहेको छ ।” बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र उक्त विधेयक मार्फत बालबालिकाको हकमा धेरै कुराको सुनिश्चित हुने जानकारी उहाँले गराउनुभयो ।
उहाँले गण्डकी सरकार पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन लागिरहेको जानकारी गराउनुभयो । शिक्षक, अभिभावक र सरकार मिलेर सामुदायिक विद्यालयमा देखिएका समस्यालाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको मन्त्री थापाको भनाई छ । नैतिक शिक्षामा मन्त्री थापाले जोड दिनुभएको छ । प्रविधिको विकास सँगै यसको सदुपयोग सही ढंगले नहुँदा बालबालिकाले पढाईप्रति ध्यान नदिने जस्तो प्रवृति मौलाएको र यस्तो समस्याको समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।