पोखरा, असोज १० गते ।पोखरा महानगरपालिकामा ४५ वर्षमाथिका लागि खोप कार्यक्रम सञ्चालन भएको छ । असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन भैरहेको छ । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाएको छ । पोखरा महानगरले ४९ खोप केन्द्रबाट खोप लगाएको छ । महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो । महानगरका खोप केन्द्रमा खोप लगाउन सर्वसाधारणको भिड लागेको छ ।

सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको छ । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ । पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ । महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिनुभयो । महानगपालिकाले ८ देखि ११ गतेसम्म खोप लगाउने तालिका सार्वजनीक गरेको छ ।
आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन् । अहिले कलेजका विद्यार्थीलाई खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले परीक्षा सञ्चालन गर्नुपूर्व खोप लगाउने निर्णय गरेको थियो । यसै अनुसार देशभरिका विभिन्न कलेजसहित पोखराका कलेजमा पनि अभियान जारी रहेको बताउनुभयो ।