फिदिम, कात्तिक ८ गते । मध्य पहाडी लोकमार्ग फिदिम खण्डको सखरखण्डे क्षेत्रमा सोमबार दिउँसो ११ बजे भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
लेटाङका सात वर्षीय प्रज्वल मगर र इलामका ३४ वर्षीय प्रमिला देवान र उहाँको सात महिनाको छोरा निश्चल देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । नाम बतन खुल्न बाँकी रहेको एक महिलाको पनि मृत्यु भएको प्रहरी निरीक्षक डम्बर डाँगीले बताउनुभयो ।
पाँचथरको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिको सिमा निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा ६५ जना घाइते भएकामा चारको मृत्यु भएको हो । थप उपचारका लागि झापातर्फ चार जनालाई रेफर गरिएकोमा बाटैमा एक जनाको मृत्यु भएको हो । तीन जनाको फिदिम स्थितकै अस्पतालहरुमो मृत्यु भएको हो । तत्काल सघन उपचारका लागि थप दश जनालाई रेफर गर्नु पर्ने अवस्था रहेकोमा एम्बुलेन्स अभावले समस्या भइरहेको अवस्था छ । अन्य घाइतेको पाँचथर फिदिमको पाँचथर अस्पतालका साथै समर्पित र पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
चालक सहचालक दुबै गम्भीर घाइते अवस्थामै रहेकाले दुर्घटनाको कारण बुझ्न नपाइरहेको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।