पोखरा, मंसिर १ गते ।लेखनाथ ब्रोडकास्टीङ कम्पनी प्रा.लि को मंगलबार सम्पन्न आठौं बार्षिक साधारण सभा एंब तेश्रो अधिवेशनले भक्त बहादुर के.सीको अध्यक्षतामा नयां संचालक समितिको चयन गरेको छ । संचालक समितिको सदस्यमा छत्रधर आत्रेय, नवराज सापकोटा, बालकृष्ण लामिछाने, चन्द्रकान्त पौडेल, भरतकुमार अधिकारी, नवराज तिवारी, उत्तम भण्डारी र सन्तोष गुरुङ्ग रहेका छन् ।
यसअघि कम्पनीको साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अहिलेको विषम परिस्थितिमा संचारमाध्यमहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।गिरीले विज्ञापनबाट संचालन हुने संचार उद्योगहरु चरम आर्थिक संकटबाट गुज्रिएको उल्लेख गर्दै, उद्योगी व्यवसायीहरुले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले सर्वसाधारणले अहिले पनि पहिलो सूचना रेडियोबाट प्राप्त गर्ने उल्लेख गर्दै, रेडियोका श्रोता बढाउने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।
कम्पनीका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं शेयर सदस्य बलराम ढकाल, पूर्व अध्यक्ष सुमन भट्टराई, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य, कम्पनीका निर्देशक नवराज सापकोटा, चन्द्रकान्त पौडेल, सुदेव गुरुङ्ग, बद्रीनाथ पौडेल लगायतले रेडियो लेकसिटीले सामाजिक उत्तरदायित्व सहित जनचेतनामुलक कार्यक्रम मार्फत श्रोताहरुलाई सुसुचित गरेको बताएका थिए ।
साधारण सभामा अध्यक्ष छत्रधर आत्रेय, कोषाध्यक्ष चन्द्रकान्त पौडेल, कम्पनी सचिव बद्रीनाथ पौडेलले पेश गरेका प्रतिवेदन पारित गरेको थियो । साथै कम्पनीले निकट भविष्यमा स्थानीय टेलिभिजन, अनलाइन पत्रिका र इन्टरनेट सेवा संचालन गर्ने योजना समेत अघि सारेको छ । कम्पनीमा लेखनाथ र पोखरा क्षेत्रका ५७ जना शेयर सदस्यहरु रहेका छन् । लेखनाथलाई कार्यक्षेत्र बनाई पाँच सय वाट क्षमताको पहिलो रेडियो लेकसिटी स्थापना भएको हो । रेडियोले विहान ५ बजे देखी राती ११ बजेसम्म धार्मिक, समाचार, संवादमुलक कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रम सहित १८ घण्टा प्रसारण गर्दै आईरहेको छ ।