राजाराम पौडेल÷पौडेल ५ मंसिर ।‘चक्रधुम’ शनिबार पोखरामा विमोचन गरियो । यो लेखक रेशम गिरीको पहिलो उपन्यास हो । उपन्यास नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तकोहातबाट विमोचन गरिएको हो ।
‘चक्रधूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक उपन्यास भएको लेखक रेशम गिरी बताउनुहुन्छ । असुरक्षित नारीहरूका समस्यालाई प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेको त्रासदीपूर्ण अवस्थाको चित्रण गरिएको छ ।
समाजमा अन्याय सहेर बस्न विवश नारीहरूका पीडा र अपराधीका चलाखीपूर्ण व्यवहारले आहत मनमा परेको गहिरो घाउको मार्मिक वर्णन उपन्यासमा पाइन्छ । अपराधीहरूको चलखेल, कानुनका छिद्रको प्रयोगद्वारा पाइने सफाइ र पीडितहरू पीडकबाट झनै असुरक्षित रहनुपर्ने सामाजिक बाध्यतालाई कौतुहलपूर्ण तरिकाले यसमा पस्कन खोजिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कृति लोकापर्ण कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले अदालत भित्रका विषयवस्तुमा कमै मात्र पुस्तक प्रकाशन हुने गरेको भन्दै श्रष्टा गिरीले गरेको प्रयास प्रति प्रशंसा व्यक्त गर्नुभयो । उपन्यास भित्र पाठकले नयाँ स्वाद भेट्ने विश्वास उहाँको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा श्रष्टा परिचय डोलराज अर्यालले गराउनुभयो । उहाँले श्रष्टा गिरीको बहुआयमिक प्रतिभा तथा उपन्यास चक्रधुमलाई आर्कषक बनाउन गरेको प्रयासका बारेमा बेलिविस्तार लगाउनुभयो । उपन्यासका बारेमा आफ्नो आत्मानुभुती सहितको चर्चा गर्दै डा.भुमिराज बस्ताकोटीले केही रमाइला प्रसंग सुनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले लेखक गिरी कास्कीकोटको अमूल्य सम्पत्ती भएको बताउनुभयो । गिरीको सक्रियता र मेहनत सबैका लागि अनुकरणीय हुने गरेको उहाँको भनाई थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कृष्ण प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलोपटक पुस्तक विमोचन गरेको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिइने प्रष्ट्याउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले अहिलेसम्म गरेका काम र आगामी दिनमा गर्ने कामको बारेमा समेत प्रकाश पार्नुभयो ।
उपन्यासको प्रकाशन बिएन पुस्तक संसार काठमाण्डौले गरेको हो । बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बीसी उपन्यासले पाठकको मनजित्नेमा विश्वस्त देखिनुहुन्छ । अदालतले दोषी करार गरेका तर निर्दोष कैदीहरुले फजुलमा खेपेको अत्यासलाग्दो सास्तीको कथा उपन्यासमा आर्कषक तरिकाले प्रस्तुत गरिएको उहाँको भनाई छ ।
त्यसोत लेखक गिरीले आफ्नो लेखनकलाको माध्यमबाट साहित्य क्षेत्र तथा शिक्षण क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएको छ । ‘संविधान’ मुक्तक सड्ग्रह उहाँको पहिलो प्रकाशित सहित्यिक कृति थियो भने अनिवार्य नेपाली अभ्यास पुस्तक कक्षा १०, नेपाली व्याकरण बोध अभिव्यक्ति र प्रयोगात्मक अभ्यास कक्षा ८, शिक्षक सेवा आयोग परिक्षा सफलता मञ्च सामाजिक अध्ययन माध्यमिक तह र निम्नमाध्यमकि तह, मेरो एसईई सामाजिक अध्ययन र अभ्यास, सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा, मेरो सजिलो सामाजिक अध्ययन र अभ्यास कक्षा ८ र कक्षा ९ शिक्षासँग सम्बन्धित उहाँका प्रकाशित पुस्तकहरू हुन् ।
लेखक गिरीको जन्म कास्की जिल्लाको रमणिय गाउँ कास्कीकोटमा भएको हो । हाल उहाँ न्याय सेवामा कार्यरत हुनुहुन्छ । शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशिल उहाँसँग राजधानी राष्ट्रिय दैनिक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको क्षेत्रीय प्रमुख, कालिका उच्च माध्यमिक विद्यालय कास्कीकोटको सहायक प्राचार्य, शैक्षिक जनशक्ति विकास केन्द्र पोखराको सामाजिक अध्ययन विषयको रोष्टर प्रशिक्षक, कास्कीकोट दिग्दर्शनको सम्पादकसमेतको अनुभव छ ।