पोखरा, मंसिर ७ गते । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमिल्सेनाले नितिगत, संरचनागत, प्रतिनिधित्व र पहुँचसहितको संविधान, ऐन, कानुनले दिएको अधिकार व्यवहारमा लागु हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय समावेशी आयोग र पोखरा महानगरपालिकाले आइतबार आयोजना गरेको पोखरा महानगरपालिकामा समावेशीताको अभ्यास विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रममा बोल्दै राज्यका निकायहरु, संघ संस्था, कार्यालयहरुले समावेशीताको मान्यतालाई आत्मसाथ गर्नुपर्ने जोड दिनुभयो।
अध्यक्ष तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग नै केहो भन्ने जानकारी नभएकाले यसलाई नागरिकस्तरमा सुसुचित गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय समावेशी आयोगको परिचय, आयोगको लक्षित वर्ग, आयोगको काम कर्तव्य र अधिकार, आयोगबाट गरिने कामहरु, समावेशीकरण, समावेशीकरणका लागि भएका संवैधानिक व्यवस्था, सामाजिक न्यायको हक, समावेशीता कार्यान्वयनका अन्य व्यवस्थाहरु, स्थानीय सरकार संचालन ऐन २०७४, दिगो विकास लक्ष्य लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
संवैधानिक आयोगको रुपमा रहेको राष्ट्रिय समावेशी आयोगले पोखरामा पहिलो पटक आयोगका बारेमा अभिमुखिकरण तथा पोखरा महानगरपालिकामा अभ्यास भईरहेको समावेशीताको बारेमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरेको हो । राष्ट्रिय समावेशी आयोगका सदस्यहरु विष्णुमाया ओझाले राज्यको पहुँच भन्दा बाहिर रहेको तल्लो तहको वर्गलाई माथि उठाए मात्रै समावेशिता हुने बताउनुभयो । उहाँले नेपाल बहुजाती, बाहुभाषिको फुलबारी हो । तीनै फुलहरुलार्ई एउटै धागोमा उन्ने काम आयोगले गर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले समावेशीताको आवाश्यकता, समावेशीताको अधिकार, दिगो विकास, मुलुकको समृद्धिका साथै पोखरा महानगरपालिकाले समावेशीताका सिद्धान्तलाई विगतदेखि आत्मसाथ गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले सैद्धान्तिक मान्यतालाई व्यवहारमा कार्यान्वयनमा केही कठिनाई भए पनि कतिपय क्षेत्रमा ऐन, कानुनले व्यवस्था गरे भन्दा पनि अधिकतम समावेशीतालाई पोखरा महानगरले आत्मसाथ गरेको बताउनुभयो।
कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पोखराले समावेशीताको क्षेत्रमा धेरै राम्रा काम गरेको बताउदै यहाँ भएका राम्रा अभ्यासका बारेमा अनुगमन गरेर सुझाव दिन समेत आग्रह गर्नुभयो ।कार्यक्रममा आयोगका सदस्यहरु हरिदत्त जोशी, मनप्रसाद खत्री, लक्षित वर्गका तर्फबाट मजुदर नेता रुद्र खत्री, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, जेष्ठ नागरिक अभियन्ता टोपराज ढुंगाना, अपांगहरुको तर्फबाट अञ्जना केसी, जेष्ठ नागरिक पोखराका अध्यक्ष भुपेन्द्र गिरीले समावेशीता व्यवहारत लागु हुनुपर्नेमा जोड दिनुभएको थियो। समावेशीता शब्द नभई समावेशीताको माग गर्ने वर्ग, समुदाय नै निति निर्माण तहमा प्रतिनिधित्व, उचित निती, योजना, बजेट र सबैले अपनत्व हुने भावनाको विकास गर्नुपर्नेमा उहाँहरुको जोड थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाअध्यक्ष धनबहादुर नेपाली, वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा नं. २२ का वडाध्यक्ष मित्रलाल बराल, पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल लगायतले वडामा समावेशीताको अभ्यास र भैरहेका गतिविधि बारे जानकारी गराउनुभयो । पोखरा महानगरका वडाध्यक्षहरु, कर्मचारीहरु र सरोकारवाला लक्षित समुहका प्रतिनीधिहरु सहभागी रहेको कार्यक्रमको संचालन आयोगका सदस्य एवम प्रवक्ता पुष्पराज तिमिल्सीनाले गर्नुभएको थियो।