प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताएका छन् । उनले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार पोखरामा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सचिव गौतमले आफूले गरेको कारोबार शुद्ध बनाउन, आफूसँग सहकार्य गर्ने व्यक्तिको सम्पत्तिको स्रोतबारे स्पष्ट हुन पनि आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून देखाएर असल काम गरिरहेका व्यवसायीहरुमाथि दुःख दिन नहुने धारणा राखे । उनले कानूनी जटिलताका कारण धेरै व्यवसायीहरु थप दण्ड र जरिवानामा परिरहेको बताउँदै सचेतनामूलक कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिए ।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सबैको सुझावको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून बन्ने बताए ।कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुसन्धानको दायरामा आउँदैमा अपराधी करार गरियो भन्ने मानशिकताबाट मुक्त हुन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सम्पत्ति शुद्धीकरण विभागका निर्देशक तेजप्रसाद प्रसाईंले सम्पत्ति आर्जन गर्नु अपराध नभए पनि त्यसको गलत व्यवस्थापन गर्नु अपराध भएको बताए । सम्पत्ति लुकाउने वा छल्ने, हस्तान्तरण वा रुपान्तरणमा जालझेल गर्ने,स्वामित्व लुकाउने,कसुरबाट सम्पत्ति प्राप्त गर्नु नै अपराध भएको उनको भनाई थियो । स्वस्थ अर्थतन्त्र विकास गर्न, पूँजी पलायन रोक्न,अपराध नियन्त्रण गर्न तथा वैदेशिक व्यापारमा सहजता ल्याउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्रियाशिल भएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दामु अधिकारीले सम्पत्ति शुद्धीकरणको लागि डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।अर्का केन्द्रीय सदस्य बाबुराम गिरीले अवैधानिक तवरले काम गर्नेलाई कारबाही र असल काम गर्नैलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखे ।नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशकी सदस्य रामकली खड्काले महिला उद्यमीहरुको प्रोत्साहन गर्दै उनीहरुले गरेका व्यवसायमा कर छुट दिनुपर्ने माग गरिन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले ट्याक्स क्लिरियन्ससम्बन्धी कानून प्रष्ट नभएको धारणा राखे ।संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको जीवन कर तिरेरै सकिने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे । पोखरा हार्डवयर एसोसिएसनका अध्यक्ष शेषकान्त ढकालले सबै व्यवसायीहरुलाई कर कार्यालयले समान व्यवहार गर्नुपर्ने माग राखे ।
अडानका अध्यक्ष रुद्रनाथ पौडेलले न्यूनबिजीकरणमा सामान खदिर र बिक्री गर्नेहरुमाथि निगरानी बढाउनुपर्ने माग गरे । पोउवा संघका उपमहासचिव केशवबहादुर खत्रीले सम्पत्ति शुद्धीकरण विभाग स्वयंले प्रभावकारी काम गर्न नसकेको गुनासो गरे ।संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।