काठमाडौँ, माघ २१ गते । विश्वभर क्यान्सर दिवस शुक्रबार मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । तीमध्ये ८५ लाख महिला छन् । तीमध्ये जीवनको चौथो र पाँचौँ दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलामा क्यान्सर रोगको प्रभाव बढी रहेको छ ।
खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।
नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।धुमपान/मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।