बलेवा, ४ चैत : यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।
खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ । बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जानुहुन्छ । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ ।
बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भोकाउनुहुन्छ । दिउँसोको खाजा खाने खर्च नहँुदा दिउँसो १ बजे नै घर फर्किने गर्नुभएकी काजल आजभोलि साँझ ५ बजे मात्रै घर पुग्नुहुन्छ । कारण विद्यालयमा नै उहाँको रुचिअनुसारकै खाजा खान पाइन्छ । सबै समय पढेर घर फर्किंदा पनि उहाँले भोकाउनु पर्दैन । यसअघि उहाँको पढाइ राम्रो चलेको थिएन । उहाँ मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य हुनुहुन्थ्यो । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो ।
यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक रु ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरु विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताउनुभयो । ‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरुलाई खाजा चाहिएको थियो”, उहाँले भन्नुभयो, “यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।” विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उहाँले बताउनुभयो ।
यसरी खाजाको पात्रो बनाउँदा एकरुपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताउनुभयो । “कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,” उहाँले भन्नुभयो, “अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।” अभिभावकलाई नगद दिँदा खर्च गरेर सक्ने भएकाले विद्यालयले खाजाको सामान खरिद गरेर बाँडेर दिने गरेको हो । यो पद्धतिले अभिभावकले जथाभावी खर्च गर्न पनि नपाएको उहाँले अनुभव सुनाउनुभयो ।
विद्यालयले सबै बालबालिकाको घरमा आइतबारदेखि शुक्रबारसम्म खाने खाजाको पात्रो बाँडेको छ । आइतबार तरकारी र अण्डा, सोमबार हलुवा, मङ्गलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटीतरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो १ः३० देखि २ बजेको समय खाजाको ेबढी तोकिएको गौतमले बताउनुभयो । यो समय बालबालिकाहरु मिलेर खाजा खाने गरेका छन् । खाजाले बालबालिकालाई मिलेर खाने बानीको समेत विकास गरेको उहाँले बताउनुभयो । केही समयअघि स्थानीय होमस्टेलाई खाजा बनाउने जिम्मा दिइएको थियो । तर कोरोना सङ्क्रमणका कारण हरेकले आफ्नै घरबाट खाजा बनाएर ल्याउने नियम चलेको हो ।