काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसले चेतावनी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा लेखिएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुले प्रयास जारी राखेका छन् । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरुसँग छलफल गरिरहेका छन् ।
सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाबीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्ताव हुन् ।
आज उम्मेदवारी फिर्ता लिने दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फबाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् ।
मन्त्री खाँण आज बिहान साढे ११ बजे चितवनबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् ।