निर्वाचन आयोगले नमूना मतपत्रमा जनकपुरधाम उपमहानगरका केही स्वतन्त्र उम्मेदवारको चिह्न नराखेको विरोधमा मेयरका उम्मेदवार मनोज साह धर्नामा बसेका छन्।
उनी सोमबार निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका हुन्। नियोजित रूपमा आफ्नो चुनाव चिह्न नमूना मतपत्रमा नराखेकाले धर्नामा बसेको उनले बताए।
साह नेपाली कांग्रेसका नेता हुन्। पार्टीबाट टिकट नपाएपछि उनी बागी उम्मेदवार बनेका छन्।
यसअघि उनले नमूना मतपत्रमा आफ्नो पनि चिह्न राख्न माग गरेका थिए। तर, २४ घण्टासम्म आफ्नो चुनाव चिह्न समावेश नगरेपछि धर्नामा बसेको साहले बताए। उनले भने, “यो सामान्य त्रुटि होइन, मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र हो।”
चुनावी प्रचारप्रसारमा जाँदा नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नहुँदा मतदातालाई सम्झाउन गाह्रो भइरहेको उनले सुनाए। आयोगले त्रुटि नसच्याएसम्म धर्ना जारी राख्ने उनले बताए। जनकपुरधाम उपमहानगरको मेयरका लागि २७ जना स्वतन्त्र उम्मेदवार छन्।
जनकपुरधामका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगका सचिव, आयुक्त तथा सम्बन्धित अधिकारीलाई जानकारी गराइसकेको बताए। मतपत्र सच्याउने काम चाँडै हुने उनको भनाइ छ।
प्याकुरेलले भने, “यो त्रुटि मनोजजीको हकमा मात्रै छैन, जनकपुरधाममा २७ जना प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार छन्, १२ जना बाहेक सबैमा यो समस्या छ।”
आयोगले १२ वटा चुनाव चिह्न मात्रै पठाएको थियो। तर, जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेपछि यस्तो समस्या आएको उनको भनाइ छ।