पोखरा महानगरको  नवनिर्वाचित उपमेयर  गुरुङद्धारा पदभार ग्रहण 

पोखरा, जेठ १२ गते ।पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले पोखराको  जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् ।पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपेर पदभार ग्रहण गरेको बताएका छन् ।

पोखरा सभागृहमा  नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण लगत्तै फुल रोपेर महानगर कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मेयर धनराज आचार्यलाई सपथ ग्रहण गराएका थिए भने उपमेयर मञ्जु गुरुग, वडा अध्यक्ष र सदस्यहरुाई मेयर आचार्यरले सपथ खुवाएका थिए ।  पोखरा वडा नम्बर ७ मा रहेको पुष्पलाल पार्कमा समेत नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले माल्यार्पण गरे ।

त्यहाँबाट निस्किएर जनप्रतिनिधिले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपेका थिए । डिभाइडरमा १ सय ६७ (जनप्रतिनिधि संख्या) वटा फूल रोपिएको छ । ‘पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपेपछि मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’

मेयर आचार्यले पहिलो दिन ३ निर्णय गर्दै पदभार सम्हालेका छन् । उनले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यले संघ सरकारलाई प्रस्ताव गर्ने बताएका छन् । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने आचार्यले योजना सुनाएका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन ।

मेयर आचार्यले न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । न्यून आय भएका व्यक्तिलाई वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने घोषणा भए पनि अन्य निर्णय भने हुन बाँकी छ । ‘भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटपछि मात्रै निर्णय हुनेछ,’ उनले भने ।

त्यस्तै, मेयर आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगितासमेत आह्वान गरेका छन् । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशीसमेत तोकिएको छ । प्रतियोगिताको अवधि २ महिनाको हुनेछ ।

‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरा चिनाउन यहाँ पनि त्यस्तै बनाउने छौं,’ मेयर आचार्यले भने, ‘त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।’

यता नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् । उनले पदभार कार्यक्रममा बोल्दै पाँच वर्ष गरेको कामको मुल्यांकन गदै फेरी पोखरेली नागरिकले आफुलाई विजयी गरेको बताउदै सेवकका रुपमा फेरी नागरिकको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरीन् । पदभार ग्रहणपछि उपमेयर गुरुंगले पोखरा १८ मा रहेको स्वःरवीन्द्र अधिकारीको शालिक, पोखरा १६ मा रहेको मदन आश्रितको शालिक, सहिद भिमेसन दाहाल र रपिन्द कार्कीको शालिकमा माल्यापर्ण गरीन ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै पोखराको १६ औं मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा दोहोरिएकी गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...