पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतीमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो ।

हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री लगायततको अभिनय रहनेछ । प्रत्यक्ष सङ्गीतमा अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनुहुनेछ । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गर्नुभएको छ ।

पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गर्न लागेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं ४ को सहकार्य छ । सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवको कथालाई नाटकमा चित्रण गरिएको छ । लेखक जोशीले विं २०२७ मा कर्णालीमा सम्पन्न लोक संस्कृति सर्वेक्षणको क्रममा कथावस्तु सङ्कलन गर्नुभएको हो । जनजिब्रोमा जीवन्त कथालाई नाटकीय रुप दिइएको हो ।

एक दशकअघि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको यो नाटक नेपालका साथै भारत र बङ्गलादेशमा पनि मञ्चन भइसकेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दाबी गर्दै पोखरामा मञ्चन हुनु खुसीको कुरा भएको र सबै नाट्यप्रेमी हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

मण्डलाको इतिहाससँग जोडिएको नाटकले पोखरामा राम्रो साथ पाउने मण्डला नाटक समूह नेपालका अध्यक्ष सिर्जना सुब्बाले विश्वास व्यक्त गर्नुभयो । यो नाटक आगामी कात्तिक १८ देखि मङ्सिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौँमा मञ्चन हुने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...