उज्यालो गाउँ अभियानमा जुटे युवा

‘आफ्नो गाउँ आफैँ बनाउ’ भन्दै यहाँका युवा सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । कामको सिलसिलामा वैदेशिक रोजगारीमा पुगेका युवाले कमाएकामध्ये केही रकम सामाजिक कार्यका लागि छुटयाएर काम गर्न थालेका हुन् ।

रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र बोटेगाउँ क्षेत्रमा उज्यालो गाउँ अभियान सुरु भएको छ । वैदेशिक रोजगारीमा रहेका युवाको पहलमा विभिन्न स्थानमा सडक बत्ती जडान गरी गाउँघर उज्यालो बनाउने अभियान चलाइएको छ ।

गाउँघरमा जुनसुकै समय पनि हुनसक्ने चोरी र आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै गाउँ, सडक क्षेत्र उज्यालो बनाउन अँधेरी खोलादेखि घट्टारसम्मको सार्वजनिकस्थल तथा सडकमा बत्ती जडान गर्न थालिएको हो । विद्युत्को खम्बा तथा असुरक्षित क्षेत्रमा ठाउँ हेरी फलामको खम्बासहित एलइडी हाइलोजन लाइट जडान गरिएको छ ।

हालसम्म गाउँमा १५ स्थानमा बत्ती जडान भइसकेको र बाँकी ३८ भन्दाबढी स्थानमा जडान गर्ने लक्ष्य रहेकोे अभियानका उपसंयोजक केशव दुवाडीले बताउनुभयो । उहाँका अनुसार दसैँअघि नै काम सक्नेगरी अभियानलाई अगाडि बढाइएको छ ।

यस कार्यका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत अभियान सुरु गरिएको हो । गण्डकीढिक बोटेगाउँमा विष्णुप्रसाद सुवेदीको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ । युएइ, कतार, साउदी अरब, ओमान, कुवेत, बहराइन, जापान, अमेरिका क्यानडा, अष्ट्रेलियालगायत दशभन्दा धेरै देशमा रहेका नेपाली युवाको सहयोगमा सामाजिक कार्यमा जोडिएको अभियानका संयोजक देवराज अर्यालले बताउनुभयो ।

“विदेशमा रहेर पनि आफ्नो गाउँ आफँै बनाउ भन्ने अभियानमा जुटेका छौँ, आफूले दुःख गरेर कमाएको धनबाट केही रकम बचत गरेर गाउँको सामाजिक काममा खर्च गरेका छौँ”, उहाँले भन्नुभयो, “कमाउने मात्रै होइन कमाएको धन सामाजिक परोपकारका क्षेत्रमा लगाउन पाइयो भने पुण्य मिल्नेछ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...